वान डे क्रिकेट: माछापुच्छ्रे २२१ रनले विजयी

पोखरा । प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय वान डे क्रिकेटमा माछापुच्छ्रेले विजयी भएको छ । पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको रुपमा रहेको प्रतियोगितामा बुधबार माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबमाथि २२१ रनको फराकिलो जित हासिल गरेको हो ।

२७२ रनको विजयी लक्ष्य पाएको गण्डकी निरिह देखियो । २१.१ ओभरमा ५० रन बनाउँदै गण्डकीका सबै खेलाडी अलआउट हुन पुगे । श्रीराम प्रजापतिले ११ र विवेक अधिकारीले ९ बाहेक अन्य व्याटरले गतिलो रन बनाउन सकेनन् । माछापुच्छे्रका लागि रितेश बरालले ५.१ ओभरमा ३ मेडन राख्दै ७ रन खर्चेर ५ विकेट लिए ।

लक्ष्मण क्षेत्रीले ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । भने रिदम पाण्डेले ६ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिबको निम्तो पाएको माछापुच्छे्रले ५० ओभरमा ५ विकेट गुमाउँदै २७१ रन जोड्यो ।

माछापुच्छे्रका लागि सुमित श्रेष्ठले शतकीय पारी संगै १५८ बलमा कुल १३० रन जोडे । प्रमोद बास्तोलाले २४ तथा दिपक माझिले २३ रन जोडे । गण्डकीका लागि स्रमाट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दि म्याच सुमित श्रेष्ठ घोषित भए । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिब क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् ।

यस्तै समूह ‘बि’ मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन ।

Exit mobile version