१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज शनिबार सकिँदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले सम्बोधन गर्ने कार्यक्रम छ ।
समापन अवसरमा रत्यौली गीत, कृषि झाँकी प्रतियोगिताको नतिजा पनि सार्वजनिक गर्दै विजेता समूहलाई पुरस्कृत गरिनेछ । त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवको ८ औं दिन शुक्रबारसम्म ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेका छन् । जसमध्ये कुल ६ हजार ४ सय ४५ बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । उनले शुक्रबार साँझसम्म गरी कुल ३३ लाख ४५ हजार बढीको आलु कारोवार भएको पनि सुनाए ।
महोत्सवमा शुक्रबार कलाकारहरु एलिना चौहान, चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, विष्णु ढुङगाना, सुनिता नेपाली, नेत्र खड्का, मुना अर्याल, परशुराम अधिकारी लगायतले प्रस्तुति राखे । त्यस्तै विष्णुपादुका माविको समूह एवम् आदित्य परियारले नृत्य देखाई दर्शकलाई नचाए भने चापाघाट आमा समूहले रत्यौली गीत प्रतियोगिता अन्तर्गत आफ्नो प्रस्तुति राख्यो ।
त्यस्तै महोत्सव समापनको दिन शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, सुनिता नेपाली, सीता परियार, राजेश भण्डारी, रमा गौतम लगायतका प्रस्ततिहरु रहने मुल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका छन् ।
त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ ।







