हेमजा आलु महोत्सवको १३ औं संस्करण आइतबारदेखि

नयाँलिपिः १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव भोली आइतबारदेखि पोखराको हेमजामा सुरु हुँदैछ ।

आलु महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
‘सु

न्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ।

महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु हुने र उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्ने कार्यक्रम छ।

महोत्सव प्रवेशका लागि साधारणतर्फ रु. ८० तथा विद्यार्थीका लागि ५० दरको टिकट व्यवस्था गरिएको छ ।

त्यस्तै रु.२०० मा महोत्सव अवधिभरका लागि स्थानीय पासको बन्दोवस्त समेत मिलाइएको र महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोवार हुने मूल आयोजक समितिका महासचिव हिम्मत थापाले जानकारी दिए ।

महोत्सव यहि वैशाख ३ गतेसम्म चल्नेछ ।

Exit mobile version