कास्की । पोखराको हेमजामा १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव आयोजना हुने भएको छ । आलु उत्पादनका लागि परिचित यस क्षेत्रमा आगामी चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव विष्णु पादुका खेलमैदानमा सञ्चालन हुनेछ ।
शनिबार आयोजित आम भेलाले वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मीना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भएका छन् ।
भेलाले महोत्सव सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल तथा रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना तथा अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा रहेका छन् ।
त्यसैगरी सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी इन्द्र थापालाई दिइएको छ ।
भेलाले प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, पानी तथा बिजुली व्यवस्थापन उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्री, बैंक तथा वित्तीय संस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा सागर कुँवर, झाँकी र्याली व्यवस्थापनमा उमा भुर्तेल पौडेललाई जिम्मेवारी दिएको छ ।
त्यस्तै कृषि परिचालन उपसमितिको संयोजकमा अर्जुन कार्की, कृषि प्रविधि व्यवस्थापनमा कृष्ण तिम्सिना तथा सरसफाइ व्यवस्थापनतर्फ सूर्य थापालाई जिम्मेवारी दिइएको छ ।
वि.सं. २०६६ सालदेखि सुरु भएको यो महोत्सव हरेक वर्ष आयोजना हुँदै आएको छ । पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले आयोजना गरेको थियो भने तेस्रो संस्करणदेखि लगातार विष्णु पादुका क्लबले महोत्सव आयोजना गर्दै आएको छ ।
आलु उत्पादनको प्रवर्द्धन, स्थानीय कृषि र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने यस महोत्सवमा आलुबाट बनेका विभिन्न परिकार, सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले बताएका छन् ।फाइल तस्विर
