गण्डकी प्रदेश सरकारमा आज मन्त्रीमण्डल हेरफेर भएको छ । जसबाट नेकपा एमाले र कांग्रेसका ८ जना सांसदले मन्त्री बन्ने अवसर पाएका छन् ।
नेपाल पर्यटन बोर्डको सभाहलमा भर्खरै पद तथा गोपनीयताको सपथ लिएर एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् ।
यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री भएकी छन्। उता लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।
त्यसैगरी, कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री भएका छन् ।
यसअघि गण्डकी सरकारमा कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हालेका थिए ।
त्यस्तै, अर्थ मन्त्रालय डा। टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालयमा भेषबहादुर पौडेल थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री सुरेन्द्र पाण्डे आफैंले राखेका थिए ।







