पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय आविष्कार अभियन्ता डा.महावीर पुन माथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक क्षेत्रमा डा। पुनसहितको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको क्रममा एक अपरिचित व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै संलग्न व्यक्तिको खोजी गरेको थियो । सोही क्रममा पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन बस्ने ४२ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले वडा नम्बर ९ महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ । साथै प्रहरी अभिलेखअनुसार पक्राउ परेका गुरुङ यसअघि पनि तीन पटक लागूऔषध मुद्दामा सजाय पाइसकेको खुलेको छ ।
