रास्वपाको बहुमत सरकार पक्का, दुई तिहाइका लागि अझै २ सिट अपुग

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये अधिकांश नतिजा आइसकेको छ भने समानुपातिकतर्फ ११० सिटको अन्तिम मतगणना जारी छ ।

हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै एकल सरकार बनाउने अवस्था सुनिश्चित गरेको छ । नेपाली कांग्रेसले १८ सिट जित्दा नेकपा एमालेले ९ सिट, नेपाल कम्युनिष्ट पार्टीले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट तथा राप्रपा र स्वतन्त्र उम्मेदवारले समान १–१ सिट जितेका छन् ।

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज भएपछि नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादव विजयी घोषित भएका छन् । यससँगै नेकपाको सिट संख्या थप एक पुगेको भए पनि आयोगको वेबसाइटमा भने अद्यावधिक हुन बाँकी रहेको छ ।

समानुपातिकतर्फ ११० सिटको बाँडफाँड बाँकी छ । हालसम्मको मतगणनाअनुसार रास्वपाले ५० लाखभन्दा बढी मत प्राप्त गर्दै करिब ५८ सिट पाउने अनुमान गरिएको छ । त्यसैगरी नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाल कम्युनिष्ट पार्टीले ८ सिट तथा श्रम संस्कृति पार्टी र राप्रपाले समान ४–४ सिट पाउने देखिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले चैत पहिलो साता राष्ट्रपति समक्ष निर्वाचन परिणाम बुझाउने तयारी गरेको छ । त्यसअघि समानुपातिक सिटको दाबीका लागि राजनीतिक दलहरूलाई तीन दिनको समय दिइनेछ ।

यस पटकको निर्वाचनबाट रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा गरी ६ दलले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ । यी दलहरूले कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार कम्तीमा एक प्रत्यक्ष सिटसहित कुल सदर मतको ३ प्रतिशत प्राप्त नगर्ने दललाई समानुपातिक सिट पाए पनि राष्ट्रिय दलको सुविधा प्राप्त हुँदैन ।

हालको अंकगणितअनुसार रास्वपाको कुल सिट संख्या दुई तिहाइ बहुमतको नजिक पुगेको भए पनि पूर्ण दुई तिहाइका लागि अझै दुई सिट अपुग हुने देखिएको छ ।

Exit mobile version