कन्टेनरको ओभरटेकले गरायो दुर्घटना, ५ गाडी आपसमा ठोक्किए

काठमाडौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति कन्टेनरले एकतर्फी ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । ओभरटेक गर्ने क्रममा कन्टेनर अन्य सवारीसँग ठोक्किँदा पाँच वटा गाडी एकैपटक आपसमा जुधेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक कालीकोट रास्कोटका अमर कार्की र सोही मोटरसाइकलमा पछाडि बसेका महेन्द्र महतारा घाइते भएका छन् । त्यस्तै बसमा सवार थप ६ जना यात्रु पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा बस चालक शङ्कर विष्ट, रामेछाप मन्थलीका विनोदकुमार अछामी, रोल्पा लिवाङका उदीराम विष्ट, धरानका नाम्नुहाङ राई, रोल्पाकै दर्शन पोख्रेल, सुनसरीका चन्द्रसिंह थापा र प्यूठान स्वर्गद्वारीका यज्ञप्रसाद भुसाल रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको छ। दुर्घटनापछि कन्टेनर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्विर

Exit mobile version