एजेन्सी । इरानमाथि २८ फेब्रुअरीमा पहिलो मिसाइल आक्रमण हुनुभन्दा अगाडि नै चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी सैन्य तयारीसँग सम्बन्धित संवेदनशील संकेतहरू सार्वजनिक भएको खुलासा भएको छ ।
संघाईस्थित चिनियाँ एआई कम्पनी मिजार भिजन (Mizar Vision) ले उच्च गुणस्तरका स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको थियो । ती तस्बिरहरूमा अमेरिकी लडाकु विमान, रनवे, युद्धपोत तथा मिसाइल डिफेन्स प्रणालीहरूको सटीक लोकेसन देखाइएको थियो । विशेष कुरा के भने तस्बिरमा जानकारी अंग्रेजीमा नभई मन्दारिन भाषामा लेखिएको थियो, जसमा विमानको नामदेखि सैनिक तैनाथीसम्मका विवरण उल्लेख गरिएको थियो।
प्रकाशित सूचनामा इजरायलको ओवदा एयर बेस, साउदी अरबको प्रिन्स सुल्तान एयर बेस तथा कतार, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूको जानकारी समेटिएको थियो । त्यस्तै अमेरिकी नौसेनाका अत्याधुनिक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड र यूएसएस अब्राहम लिंकन को गतिविधि पनि ट्र्याक गरिएको दाबी गरिएको छ ।
उक्त डेटा “ओपन सोर्स फ्लाइट ट्र्याकिङ” प्रणालीसँग जोडेर बहराइनबाट उडान भर्ने निगरानी विमानहरूको उडान मार्ग समेत पत्ता लगाइएको बताइएको छ । विश्लेषकहरूका अनुसार यो जानकारी चीनको १०० भन्दा बढी उपग्रह भएको ‘जिलिन–१’ स्याटेलाइट नेटवर्क वा अन्य व्यावसायिक स्याटेलाइट कम्पनीहरूबाट प्राप्त हुनसक्छ ।
यसबीच अमेरिका र इजरायलले इरानमाथि हवाई हमला सुरु गरेपछि तेहरानले पनि मिसाइल र ड्रोनमार्फत जवाफी आक्रमण गरेको थियो। इरानले जोर्डनको मुवाफक सल्ती एयर बेस मा रहेको करिब ३०० मिलियन डलर मूल्यको अमेरिकी AN/TPY-2 रडार सिस्टम नष्ट गरिदिएको दाबी गरिएको छ। यो रडार मिसाइल रक्षा प्रणालीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
रडार नष्ट भएपछि अब मिसाइल अवरोध गर्ने जिम्मेवारी ‘प्याट्रियट’ मिसाइल ब्याट्री माथि परेको बताइएको छ, तर यसको संख्या सीमित रहेको विश्लेषण गरिएको छ ।
मिजार भिजनले आफैं स्याटेलाइट सञ्चालन नगरे पनि सार्वजनिक रूपमा उपलब्ध डेटा, व्यावसायिक स्याटेलाइट तस्बिर र एआई मोडेल प्रयोग गरेर यस्ता संवेदनशील विश्लेषण तयार गर्ने गर्छ । यही कारणले कतिपय विश्लेषकहरूले यसलाई “इन्टेलिजेन्सको ब्लुमबर्ग” समेत भन्न थालेका छन् ।
यद्यपि इरानले आक्रमणका लागि यी चिनियाँ तस्बिरहरू नै प्रयोग गरेको भन्ने ठोस प्रमाण भने सार्वजनिक भएको छैन। तर मिजार भिजनले पहिचान गरेका धेरै स्थानहरू पछि इरानको निशानामा परेको तथ्यले अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा नयाँ बहस सुरु गराएको छ ।
