निर्वाचन: आजदेखि मदिरा निषेध, मतदानको दिन सवारी नचल्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन आउन ६ दिन बाँकी रहँदा आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आजैदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै आचारसंहिताको पूर्ण पालना गराउन निर्देशन दिएको छ । निषेधित कार्य भएरगरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्न ७७ वटै जिल्लाका प्रशासन र सुरक्षा निकायलाई परिपत्र गरिएको छ ।

मतदानको दिन सवारीमा रोक
आयोगले मतदान हुने दिन अर्थात् फागुन २१ गते सवारी आवागमनमा कडाइ गर्ने निर्णय गरेको छ । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।

यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्वाध चल्न पाउनेछन् । कूटनीतिक नियोगका सवारी र आयोगबाट पास प्राप्त गरेका सवारी साधनलाई पनि अवरोध हुनेछैन ।
हवाई यात्रा र पास वितरण

मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान यथावत् रहनेछन् । हवाई टिकट भएका यात्रुलाई विमानस्थलसम्म जान र आउनका लागि निजी वा सम्बन्धित एयरलाइन्सको सवारी साधन प्रयोग गर्न दिइने आयोगले स्पष्ट पारेको छ ।

सवारी पासका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ खडा गरिनेछ । जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खटिनेछन् ।

परिचयपत्र नभए पनि भोट हाल्न पाइने

आयोगले मतदाता परिचयपत्र नभएका तर मतदाता नामावलीमा नाम भएका नागरिकलाई मतदानबाट वञ्चित नगर्ने जनाएको छ । मतदाताले आफ्नो परिचय खुल्ने निम्नमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन् :-

नेपाली नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
राहदानी (पासपोर्ट)
जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मतदानमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई सोहीबमोजिम सहजीकरण गर्न आयोगले निर्देशन दिएको छ .

Exit mobile version