लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–१ भारतेको ढिनगाउँ लाँकुरीभञ्ज्याङमा ढुंगा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ग१त ४३९४ नम्बरको ट्याक्टर शुक्रबार बिहान करिब पौने ११ बजेतिर ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा नुवाकोट घर भई हाल सुन्दरबजार नगरपालिका–६ बस्दै आएका अन्दाजी ३७ वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुंगा लोड गरेर गन्तव्यतर्फ जाने तयारीमा रहेको ट्याक्टर एक्कासी ब्रेक फेल भई पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरको अगाडिको इञ्जिनसहितको भाग माथि उठेर झर्दा चालक बसेको सिट च्यापिएको र त्यसैमा परी तामाङको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।
दोर्दी गाउँपालिका–१ का वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार उक्त ट्याक्टर सडक सोलिङ तथा ढलानस्थल देउरालीतर्फ ढुंगा लैजान तयारी अवस्थामा रहेको थियो । ओट लगाउने क्रममा ट्याक्टर पछाडि सर्दै पल्टिएको जानकारी प्राप्त भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली खटिएको र चालकलाई ट्याक्टरले च्यापिएको अवस्थामा रहेको बताए । घटनास्थलमा प्रहरी पुगिसकिएको र डोजरसमेत पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
