पोखरा । पोखरामा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’का क्रममा राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरिएको छ ।
बुद्धटोल युवा क्लबको आयोजनामा पोखरा–१ टुंडिखेलमा सञ्चालन भइरहेको प्रतियोगितामा राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै शुक्रबार लामा सम्मानित भएका हुन् । उनी हाल बिटी कपमा ठमेल एफसीबाट खेलिरहेका छन् ।
शुक्रबार प्रतियोगिताअन्तर्गत पहिलो चरणका ८ खेल सम्पन्न भएका छन् । मार्सल ह्वाइट, ठमेल एफसी, बाँनिया ब्रदर्श, डेभिजफल्स क्लब, एनए एफसी, दिप युनाइटेड र एट टु नाइन एफसीले आ–आफ्ना खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् भने गोल्डेन नाइटको अनुपस्थितीमा नवश्री वाकओभरमार्फत विजयी बन्यो ।

शनिबार पहिलो चरणका बाँकी खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताको विजेताले २ लाख २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।