प्रतिभा सुपर लिगः सेमीफाइनल समीकरण पूरा, मदरल्याण्ड अन्तिम चारमा

पोखरा । प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो ।

यसअघि आयोजक प्रतिभा माध्यमिक विद्यालयसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि सेमीफाइनलमा प्रवेश गरिसकेका थिए । अब मदरल्याण्ड सेकेण्डरी चौथो सेमीफाइनलिस्ट बनेको छ ।

प्रतियोगिताअन्तर्गत सेमीफाइनल खेलहरू भोलि (शनिबार) हुनेछन् । पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन मावि आमनेसामने हुनेछन् भने दोस्रो सेमीफाइनलमा आयोजक प्रतिभा मावि र बाल मन्दिर माविबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार भएको निर्णायक खेलमा मदरल्याण्ड सेकेण्डरीले गुरुकुल विद्या सदनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्‍यो । टस जितेर फिल्डिङ रोजेको गुरुकुलविरुद्ध पहिले ब्याटिङ गरेको मदरल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल तयार गर्‍यो ।

१२२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा गुरुकुल विद्या सदन ११.१ ओभरमै सबै विकेट गुमाउँदै ५७ रनमा सीमित भयो । उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मदरल्याण्डका विलोभ मल्लले ६ विकेट हात पार्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

त्यसैगरी शुक्रबार नै भएको अर्को खेलमा टप्स माविले कुमुदिनी होम्स माविलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्‍यो । सेमीफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको अवस्थामा भएको खेलमा कुमुदिनी होम्सले टस जितेर पहिले ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो ।

१२६ रनको लक्ष्य पछ्याएको टप्स माविले १७.१ ओभरमै ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सो खेलमा टप्स माविका अनुज शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताको फाइनल खेल आइतबार आयोजना हुने छ ।

Exit mobile version