पोखरा । सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा हुँदै आएको आहा रारा पोखरा गोल्डकप २५ औँ वर्ष (रजत वर्ष) पूरा गरेको अवसरमा प्रतियोगिताको इतिहास झल्काउने फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजनामा तथा सहारा क्लब पोखराको सहयोगमा गरिएको उक्त प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा सञ्चालन गरिएको हो ।
प्रदर्शनीको उद्घाटन दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले गरेका हुन् ।
प्रदर्शनीमा आहा रारा पोखरा गोल्डकपको सुरुवातदेखि हालसम्मका अविस्मरणीय क्षण समेटिएका एक सय तस्बिर राखिएको नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिएको उनले बताए ।
५० भन्दा बढी तस्बिरमा मैदानभित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई समेटिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.९ का अध्यक्ष दीपेन्द्र मर्सानी, सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले आहा रारा गोल्डकपको निरन्तरता र नेपाली फुटबलमा यसको योगदानबारे धारणा राखेका थिए ।
२०५८ सालमा क्याराभान गोल्डकपका रूपमा सुरु भएको प्रतियोगिता हाल आहा रारा पोखरा गोल्डकपका रूपमा २५ औँ संस्करणमा आइपुगेको हो । यस वर्षको प्रतियोगिता माघ २७ गतेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा तीन विदेशी टोलीसहित ‘ए’ डिभिजन क्लब, विभागीय टोली र आयोजक गरी १२ टोलीको सहभागिता रहनेछ ।
प्रदर्शनीमा राखिएका तस्बिरहरू प्रतियोगिता अवधिभर माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि अवलोकन गर्न सकिने एनपिजेए कास्कीले जनाएको छ ।
