१९ औं बिटी कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी 

पोखरा । पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।

बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे । 

सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश गर्याे । 

बिटी ह्वाइट र मेरो नेपाल क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । 

यस्तै दोस्रो खेलमा पाटन एफसीलाई भाइब्रेन्ट एफसीले २–० को गोलले पराजित गर्याे । भाइब्रेन्टको जीतमा अजय गुरुङ र एलिया गुरुङले समान १/१ गोल गरे । 

प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरु शुक्रबार बिहान ८ बजेबाट सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी  दिए । उनका अनुसार प्रतियोगितामा कुल ४६ टिमले प्रतिस्पर्धा गर्दैछन् । 

उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । 

प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Exit mobile version