पोखरा । पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत आमनेसामने हुने भएको छ ।
बुधबार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा भुटानलाई पराजित गर्दै भारत र नेपाललाई पराजित गर्दै बंगलादेश यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
बुधबारको पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान १/१ गोल गरिन ।
त्यस्तै बुधबार नै भएको लिग चरणको अर्को खेलमा बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बंगलादेश प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको हो । अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ
