कास्की–१ मा कांग्रेसको चुनावी प्रचार औपचारिक रूपमा सुरु

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रचार औपचारिक रूपमा सुरु गरेको छ। सोमबार पोखरा महानगरपालिका–२६, कालिकाचोकमा चुनावी कार्यालय उद्घाटन गर्दै कांग्रेसले चुनावी रणनीति र योजना सार्वजनिक गरेको हो।

कांग्रेस कास्की–१ का उम्मेदवार तिलकबहादुर रानाभाटको नेतृत्वमा विभिन्न उपसमितिहरू गठन गरी घरदैलो अभियानसमेत सुरु गरिएको छ। पार्टीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी एजेन्डा प्रस्तुत गर्ने रणनीति अघि सारेको जनाएको छ।

चुनावी घोषणा कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले कांग्रेसका सबै नेता तथा कार्यकर्ता एकजुट भएर उम्मेदवार रानाभाटको जित सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले कास्की–१ का मतदातालाई कांग्रेसलाई समर्थन गर्न आग्रहसमेत गरे।

पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सयौंको संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पार्टी सचिवहरू ओमप्रकाश गुरुङ र सरोज केसीले गरेका थिए।

Exit mobile version