बुकहिल पब्लिकेसनको आयोजना र र्यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा पोखरामा एकदिने ‘बुकहिल बुकाञ्जा’ उत्सव सम्पन्न भएको छ ।
उक्त उत्सवमा साहित्यिक कृतिका स्रष्टा र पाठकहरुको उत्साही सहभागिताबाट आयोजकले पुस्तक र विचारको उत्सव शानदाररुपमा सफल भएको उल्लेख गरेका छन् ।
वरिष्ठ साहित्यकार सरुभक्तलाई बुकहिलका संस्थापक अध्यक्ष भूपेन्द्र खड्काले पुस्तक उपहार दिएपछि सुरु भएको उत्सवको रौनक ७ वटा भिन्न सत्रहरूमा बाँडिएको थियो ।
पहिलो सत्र ‘असहमतितन्त्र’ निकै तातो बन्यो, जहाँ विश्लेषक सौरभ र एकान्त शर्मा आमने–सामने भए । सौरभले समाज, संस्कृति र इतिहासका स्थापित तर गलत मानिएका भाष्यहरू विरुद्ध आफ्ना तिखा वैचारिक असहमतिहरू राखे ।
उनले परम्पराका नाममा लादिएका भ्रमहरू चिर्नुपर्ने तर्क गर्दा एकान्त शर्माले भने सनातन इतिहास र संस्कृतिलाई नै राष्ट्र निर्माणको बलियो आधार मान्नुपर्ने अडान लिए । एउटै मञ्चमा यी दुई बौद्धिक व्यक्तित्वको वैचारिक टकराबले दर्शकहरूलाई निकै समयसम्म एकाग्र बनाइराख्यो ।
दोस्रो सत्र ‘स्वको महायुग’ मा साहित्यकार सरस्वती प्रतीक्षाले सीमा आभासको पछिल्लो कृति ‘महायुग’ का बारेमा संवाद गरिन् । विशेष गरी यस पुस्तकको आवरण चित्रलाई लिएर सामाजिक संजाल र ट्विटरमा भएको बहसका बारेमा लेखिका सीमाले आफ्नो धारणा राखिन् ।
सचिन योगलले बनाएको सो चित्र ‘योनि मुद्रा’ सँग मिल्दोजुल्दो देखिएपछि आएका प्रतिक्रियाहरूको जवाफ दिँदै उनले भनिन्, ‘यो पुस्तकले पूर्वीय दर्शनको जगमा उभिएर महिलाहरूको सम्मानित अस्तित्व र उनीहरूको आत्मसम्मानको खोजी गरेको छ ।’ उनले कलालाई हेर्ने दृष्टिकोण फरक हुन सक्ने तर त्यसको मर्म बुझ्न जरुरी रहेको बताइन् ।
लेखिका सीमा आभासले ‘महायुग’ पुस्तकको आवरण चर्चा र पूर्वीय दर्शनमा महिलाको स्थानबारे प्रस्ट पारिन्
तेस्रो सत्रमा निष्प्रभ सजीको नयाँ उपन्यास ‘याली’ को लोकार्पण गरियो । साहित्यकार सरुभक्त र लेखक सजीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेपछि कृतिमाथि बहस भयो । सजीले यो उपन्यास लेख्न आफूलाई ९ वर्ष लागेको सुनाए ।
सरुभक्तले सोधेको ‘ग्रामीण र प्रवासी जीवनलाई जोड्दा कस्तो अनुभव भयो’ भन्ने प्रश्नको जवाफ दिँदै सजीले भने, ‘खोलामा गाईवस्तु चराउँदा देखेको एउटा एक्लो घरको बाँच्ने संघर्षबाटै यो कथाको जन्म भएको हो ।’ यसमा जंगबहादुरको समयदेखि वर्तमान अस्ट्रेलिया र फिजीको जीवनलाई रोचक ढंगले बुनिएको उनले जानकारी दिए ।
चौथो सत्र ‘निबन्धको उज्यालो’ मा रोशन शेरचन र भूपिनले निबन्ध विधाका बारेमा घोत्लिने प्रयास गरे । करिब ३ दशकदेखि लेखनमा सक्रिय रोशनले निबन्ध भनेको केवल शब्दको संग्रह मात्र नभई समाजमा व्याप्त विभेदपूर्ण व्यवहारलाई मानवीकरण गर्ने माध्यम भएको बताए । उनले जीवनमा अगाडि बढ्न हौसला र ऊर्जा दिने लेखन नै वास्तविक ’उज्यालो’ भएको अनुभव सुनाए । पाँचौँ सत्रमा भने कवि नदीशले ‘नदीशको लयमा हिउँद’ शीर्षकमा आफ्ना आधा दर्जन कविताहरू वाचन गरे । उनले ‘कोकुन’ देखि ‘म फेरि आउँछु’ सम्मका कविता वाचन गर्दा हलमा सन्नाटा छाएको थियो ।
छैटौँ सत्र ‘पाइडल र पैताला’ मा विश्वयात्री पुष्कर शाह र गणेश पौडेलको गफगाफ भयो । १ सय ५० भन्दा बढी देशको साइकल यात्रा गरेका शाहले आफ्नो यात्राले राष्ट्रप्रेम भन्दा बढी नेपाली राज्यको सीमितता र कमजोर राहदानीको पीडा महसुस गराएको बताए ।
‘मेरो साइकलको पांग्र्राले जहाँ–जहाँ पाइला टेक्यो, त्यहाँ–त्यहाँ नेपालको झन्डा पुगेको छ,’ उनले भने, ‘यदि यो देशको झन्डा कसैले लामो समयसम्म बोकेको छ भने त्यो मेरो साइकलले नै बोकेको छ ।’ उनले विदेश भ्रमणका क्रममा भोगेका रोचक र तीता अनुभवहरू समेत बाँडेका थिए ।
उत्सवको अन्तिम बिट भने संगीतमय बन्यो । ‘बुकहिल ब्यालेड्स’ शीर्षकको अन्तिम सत्रमा सञ्चारकर्मी संजोग बस्याल र गायक विनोद बानियाँबीच भलाकुसारी भयो । संवादकै बीचमा गायक बानियाँले सरुभक्त र तीर्थ श्रेष्ठका लोकप्रिय गीतहरू सुनाएर उपस्थित सबैलाई झुमाएका थिए ।
