पोखरामा ‘बुकहिल बुकान्जा’ : ७ सत्रमा वैचारिक मन्थन र सांगीतिक उत्सव हुने

नेपालको पर्यटकीय सहर पोखरामा शनिबार एक विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ।

प्रकाशन संस्था बुकहिल र पोखराको प्रसिद्ध साहित्यिक संस्था र्‍यान्डम रिडर्स सोसाइटीको संयुक्त आयोजनामा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा यो एकदिने मेला हुन लागेको हो।

‘पुस्तक र विचारको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा चर्चित लेखक, कवि, विश्लेषक र संगीतकर्मीहरूको बृहत् जमघट हुने आयोजकले जनाएको छ। कार्यक्रममा विचार, विमर्श र सिर्जनासँग सम्बन्धित कुल ७ वटा विभिन्न सत्रहरू सञ्चालन हुनेछन्।

बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार यो कार्यक्रम लेखक र पाठकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र समाजमा वैचारिक बहसलाई तीव्रता दिन केन्द्रित रहनेछ। “हामी पोखरामा पुस्तक र विचारको उत्सव मनाउँदै छौँ,” अध्यक्ष खड्काले भन्नुभयो, “यस्ता विमर्शले नेपाली पठन संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो विश्वास छ।”

शनिबार बिहान ११:३० बजेबाट सुरु हुने मेलाको पहिलो सत्र ‘असहमति–तन्त्र’ रहनेछ, जसमा चर्चित विश्लेषक सौरभ र एकान्त शर्माबीच संवाद हुने तालिका छ। लगत्तै ‘स्वको महायुग’ सत्रमा सरस्वती प्रतीक्षा र सीमा आभासले बहस गर्नेछन्।

कार्यक्रमको अर्को मुख्य आकर्षणको रूपमा निष्प्रभ सजीको नयाँ कृति ‘याली’ को लोकार्पण गरिनेछ। पुस्तकको विमोचन वरिष्ठ साहित्यकार सरुभक्त र स्वयं लेखकले गर्नेछन्। यस्तै, निबन्ध विधामा केन्द्रित ‘निबन्धको उज्यालो’ सत्रमा रोशन शेरचन र भूपिनबीच संवाद हुनेछ।

साहसिक यात्रा र अनुभवका बारेमा ‘पाइडल र पैताला’ सत्रमा विश्व साइकल यात्री पुष्कर शाह र लेखक गनेस पौडेलबीच रोचक कुराकानी हुनेछ। साथै, ‘नदीशको लयमा हिँउद’ शीर्षकमा नदीशले आफ्नो एकल प्रस्तुति दिनेछन्।

कार्यक्रमको अन्तिम सत्रमा ‘बुकहिल ब्यालेड्स’ अन्तर्गत विशेष सांगीतिक प्रस्तुति रहनेछ। जसमा वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका लोकप्रिय गीतहरूलाई गायक विनोद बानियाँले आफ्नो स्वरमार्फत प्रस्तुत गर्नेछन्।

Exit mobile version