पोखरामा फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सहकार्यमा बुधबार ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ सम्पन्न भएको छ। उत्सवमा तीनवटा सत्रमा विभिन्न विषयमाथि छलफल गरियो।
पहिलो सत्रमा लेखक सुबिन भट्टराईको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ माथि नायिका सनिशा भराईले लेखकसँग संवाद गरेकी थिइन्। भट्टराईले आफ्नो मस्तिष्कमा लामो समयदेखि घुमिरहेका कथाहरूलाई नै यस पुस्तकमा समेटेको बताए।
उनले भने, ‘कुनै पनि कथा मस्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ। यसमा भएका कथाहरू पनि लामो समयदेखि मेरो मस्तिष्कमा रहेको थियो। पटक्कै जान मानेनन् र अब तैले लेख्नुपर्छ भनेर मलाई महसुस भयो र लेखेँ।’
उनले हरेक मानिसको वरिपरि कथाहरू हुने र कसैले लेख्ने त कसैले भन्ने गरेको पनि उल्लेख गरे।
दोस्रो सत्रमा डा. नवराज केसीद्वारा लिखित ‘स्वस्पर्शको स्पर्श’ पुस्तकमाथि साहित्यकार उपेन्द्र पौडेलले लेखक डा. केसीसँग संवाद गरे। डा. केसीले जीवनको उद्देश्य ‘खुसी भेट्नु अलिकति र अरुलाई खुसी दिनु अत्याधिक’ हो भन्नेमा केन्द्रित रहेर छलफल गरे।
आफूलाई आवश्यक परेको वस्तु सही समयमा प्राप्त गर्नु नै जीवनको उद्देश्य भएको उनको भनाइ थियो। उनले भने, ‘नहुँदा जति महत्त्व दिन्छौं त्यो हुँदा खेरि नै त्यसको महत्त्व दिऔं भन्नु नै जीवनको सबैभन्दा ठूलो उद्देश्य हो।’
उनले आफ्नो पुस्तकमा आमाको माया झल्किएको र धेरैको जीवनका कथा संकलन गरेर पुस्तक लेखेको बताए। पात्रहरूको अनुमतिमा कथा समेटिएको र यसको उद्देश्य अरूलाई प्रेरणा दिनु रहेको पनि उनले स्पष्ट पारे।
डा. केसीले आफ्नो पुस्तक पढेर कसैले आत्महत्या गर्ने सोच त्यागेर जीवन बदलेको उदाहरण पनि सुनाए।
‘मैले केही दिन यता मेरो इमेलमा धेरै म्यासेजहरू पाइरहेको छु। त्यो मध्ये एउटा बहिनीले लेखेको मन छुने म्यासेज छ, “मैले आत्महत्या गर्न डोरी किनिसकेको थिएँ। स्वस्पर्श पढेँ डोरी हटाएँ र बाँच्न सुरु गरे”,’ उनले भने, ‘त्यसपछि उनको फेसबुक प्रोफाइल निरन्तर हेररहेको छु उनी नाचेको घुमेको फोटोहरू देख्छु। सायद मलाई संकलकबाट लेखक ती बहिनीले बनायो की जस्तो लाग्छ।’
उत्सवको अन्तिम सत्रमा अभिनेता राजेश हमालले ‘युगदेखि युगसम्म’ पुस्तकमाथि पत्रकार अपिल त्रिपाठीसँग संवाद गरे। यो पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयामहरूलाई समेटेर लेखिएको छ।
संवादमा हमालले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाबारे पनि चर्चा गरे। उनले आफूलाई राजनीतिमा चासो नभए पनि राजनीतिले आफूलाई चासो राख्ने बताए।
‘राजनीति एउटा यस्तो जटिल विषय हो। तपाईंले राजनीतिलाई चासो नराखेता पनि राजनीतिले तपाईंलाई चासो राख्छ,’ उनले भने। राजनीति देशको मेरुदण्ड भएकाले कुनै पनि व्यक्ति राजनीतिक घेराबाट उम्किन नसक्ने अभिनेता हमालले स्पष्ट पारे।
