जेनजी आन्दोलनको दोस्रो दिन प्रहरीको पेस्तोल र गोली लुटेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार नुवाकोटको लिखु गाउँपालिका–६ का २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट लुटेको पेस्तोल, म्याग्जिन र १२ राउन्ड गोली बरामद गरेको जनाएको छ। एक घरको छतमा पेस्तोल पड्काइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
सो भिडियोमा देखिएका व्यक्ति समीर श्रेष्ठ भएको पत्ता लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। समीरले दिएको जानकारीका आधारमा एलेक्स नेपाली पनि पक्राउ परेका हुन्।
दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
