एमालेको चुनाव र संगठनलक्षित कदम, गण्डकीका १० जिल्लामा छानिए कमाण्डर

 नेकपा (एमाले) ले सांगठनिक सुदृढीकरण र चुनावी अभियान अन्तर्गत गण्डकी प्रदेश र यस अन्तर्गतका १० जिल्लाका इन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।

सचिवालय बैठकको निर्णयअनुसार गण्डकी प्रदेश इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी पार्टी सचिव खगराज अधिकारीलाई दिइएको छ।

बैठकले प्रदेशका ११ मध्ये १० जिल्लामा केन्द्रीय सदस्यहरूलाई इन्चार्जको रूपमा खटाएको छ भने हिमाली जिल्ला मनाङको इन्चार्ज हाललाई रिक्त राखेको छ। जसअनुसार कास्कीमा कृष्ण थापा, बागलुङमा मना केसी, तनहुँमा केदार सिग्देल र गोरखामा रामशरण बस्नेतले जिम्मेवारी पाएका छन्।

त्यसैगरी, स्याङ्जामा सीमा क्षत्री, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा र मुस्ताङमा चन्द्रमोहन गौचन इन्चार्ज तोकिएका छन्। नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला कमान्डरको जिम्मेवारी सुम्पिएको छ।

केन्द्र र जिल्लाबीचको समन्वयलाई मजबुत बनाउन केन्द्रीय सदस्यहरूलाई नै जिल्लाको जिम्मेवारी दिइएको एमालेले जनाएको छ।

नवनियुक्त इन्चार्जहरूले संगठन विस्तार, नयाँ सदस्य वितरण र आगामी निर्वाचनको रणनीतिक तयारीलाई प्राथमिकता दिने बताइएको छ।

Exit mobile version