कास्कीमामात्रै डेंगीका ४ सय बढी बिरामी, गण्डकीभर ८ सय नाघ्यो

स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको साप्ताहिक तथ्यांकअनुसा पोखरा महानगरपालिकामा १२९ जना डेंगी संक्रमणका बिरामी थपिएका छन् ।

यही साउन १० गतेसम्ममा ३०३ जनामा डेंगी संक्रमण पुष्टि भएकामा आइतबार उक्त संख्या वृद्धि भई ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी संख्या हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक प्रदेशका १० जिल्लामा कूल ८११ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

प्रदेश राजधानी पोखरा गत वर्ष डेंगीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेंगी संक्रमण भएको थियो ।

अघिल्लो वर्ष डेंगी संक्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । भदौदेखि कात्तिकसम्म डेंगी संक्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रमणको दर बढ्न सक्ने अनुमान गरिएको छ ।

गत वर्षजस्तो संक्रमण व्यापक हुन नदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डेंगी संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमणको दर बढ्दै गएको हो ।

गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा बढी कास्कीमा ४४१, तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा चार र मुस्ताङमा जम्मा एक जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।

कास्कीमा संक्रमण पुष्टि भएका ४४१ मध्ये ४३२ जना पोखरा महानगरपालिकाका हुन् । पोखरा महानगर लगायत प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेंगी फैलनबाट रोक्न डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडातहदेखि नै सुरु भए पनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगी रोकथाम र नियन्त्रण गर्न कठिन हुने स्वास्थ्यकर्मी बताउँछन् ।

डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।

सफा र जमेको पानीमा उक्त लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय मानिन्छ ।

Exit mobile version