गुरुङ् गहनाको रक्तदानमा १ सय १४ यूनिट रगत संकलन, लेखक तीर्थ सम्मानित

पोखरामा रहेको गुरुङ् गहना घरले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १४ यूनिट रगत संकलन भएको छ ।

न्यूरोडस्थित गहना घरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रमसँगै ‘पाठशाला’, ‘हिउँको गीत’लगायत कृृतिका सर्जक तीर्थ गुरुङलाईसमेत सम्मान गरिएको छ ।

गहना घरले सर्जक गुरुङलाई नगद २० हजार रुपैयाँ र दोसल्ला ओढाई सम्मान गरेको प्रबन्ध निर्देशक सीमा गुरुङले जनाइन् ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद सरस्वती गुरुङ र पन्चराम गुरुङले गहना घरले मानवीय सेवा र साहित्यलगायतको क्षेत्रमा गरेको सेवाको प्रशंसा गर्दै नयाँ शाखाको सफलताको शुभकामना दिए ।

सोही अवसरमा प्रबन्ध निर्देशक गुरुङले आफ्नो जन्मदिनमा सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले रक्तदान र सम्मान कार्यक्रमको आयोजना गरेको बताइन् ।

हाल सुनचाँदी व्यवसायमा सरकारले विलासिताको नाममा लगाएको अतिरिक्त कर ग्राहकमाथि थोपरिएको भार भएको बताउँदै सुनचाँदी नेपाली परम्परा र संस्कृतिको मानक रहेको उल्लेख गरिन् ।

गहना घरका निर्देशक नेल्सन गुरुङले आगामी घटस्थापनाका दिन न्यूरोडमै नयाँ शाखा उद्घाटन गर्ने जानकारी दिए ।

०७८ सालमा स्थापित गहना घरमा हाल ३५ जना कार्यरत छन् ।

Exit mobile version