त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा संकट: माघ १ देखि कार्यक्रम बन्द गर्ने चेतावनी

त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) ले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य बीमा बोर्डले उपचार बापतको ठूलो रकम दाबी अस्वीकृत गरेको र लामो समयदेखिको बक्यौता भुक्तानी नगरेको भन्दै अस्पतालले यस्तो कडा कदम चाल्ने तयारी गरेको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास आचार्यले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेख्दै मासिक डेढदेखि दुई करोड रुपैयाँको दाबी अस्वीकृत हुँदा अस्पतालले ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ, ‘मासिक ४–५ करोडको दाबीमध्ये झण्डै आधा रकम रिजेक्ट गरिँदा सरकारी संस्था भएर पनि आफ्नै स्रोतबाट तलबभत्ता खुवाउनुपर्ने अस्पताललाई गम्भीर संकट परेको छ।’

अस्पतालका अनुसार बोर्डले विशेषज्ञ चिकित्सक (प्रोफेसर) हरूले बिरामीको रोग पहिचानका लागि सिफारिस गरेका सिटी स्क्यान र एमआरआई जस्ता परीक्षणको दाबी समेत अस्वीकृत गर्ने गरेको छ।

हालसम्म अस्पतालले बीमा बोर्डबाट ३८ करोड ९५ लाख ९७ हजार रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी छ। आर्थिक अभावका कारण अस्पतालले औषधि र स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समेत ५ महिनादेखि भुक्तानी दिन सकेको छैन।


Exit mobile version