प्रदेशसभा सदस्य रहबरले हुलाकबाट राजीनामा पठाएर नेकपा छाडे

मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा छाडेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अन्सारीले हुलाकबाट राजीनामा पत्र पठाएका हुन् ।

राजीनामापत्रमा रहबरले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है’ सम्झिँदै कटाक्ष गरेका छन् । उक्त सायरी प्रचण्डको स्मृतिमा मात्रै रहेको भन्दै उनले चित्त दुखाएका छन् ।

अन्सारीले साहस, इमानदारी र जोखिम तीनवटै मूल्य-मान्यता माओवादी केन्द्रले छाडिसकेको टिप्पणी पनि गरेका छन् ।

उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । अन्सारीले त्यसबेला एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।

प्रदेशसभा सदस्य अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्यासीसमेत थिए ।

Exit mobile version