बेलायतको ‘वर्क परमिट’का नाममा ठगी धन्दा, सचेत रहन दूतावासको आग्रह

 बेलायतमा आकर्षक रोजगारी र ‘वर्क परमिट’ दिलाइदिने प्रलोभन देखाई नेपालीहरू ठगिने क्रम बढेपछि लण्डनस्थित नेपाली दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक (Sponsor) खोजिदिने बहानामा भइरहेको ठगीबाट सचेत रहन सबैमा अपील गरेको छ।

दूतावासका अनुसार नेपालबाट बेलायत आउन चाहनेहरू मात्र नभई बेलायतमै रहेर काम खोजिरहेका नेपालीहरूसमेत यस्तो ठगीको शिकार भइरहेका छन्। ठगी गर्नेमा नेपाली मूलका व्यक्तिहरू र चिनजानका व्यक्तिमार्फत जोडिने विदेशी नागरिकहरू समेत संलग्न रहेको पाइएको छ।

बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले पीडितहरूलाई न्याय दिलाउन दूतावासले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

यस्ता गतिविधि दुवै देशको कानूनअनुसार दण्डनीय हुने भएकाले ठगीमा परेको खण्डमा प्रमाणसहित नेपालको प्रहरी वा बेलायतको ‘एक्सन फ्रड’ (Action Fraud) मा उजुरी दिन दूतावासले सुझाव दिएको छ।

समस्यामा परेकाहरूले दूतावासको ईमेल वा फोन नम्बर +४४-७४०४९३९२७४ मा सम्पर्क गर्न सक्नेछन्।

Exit mobile version