कास्कीको लुम्लेमा ‘कवितागाउँ’ का परिकल्पनाकार कवि एवं गीतकार विनोद गौचनको अर्धकदको सालिक अनावरण गरिएको छ।
गौचनको १२औं स्मृति दिवसको अवसरमा आइतबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कवितापार्कमा सालिक अनावरण गरेका हुन्।
सालिक अनावरण गर्दै अध्यक्ष केसीले गौचनले लुम्लेलाई चिनाउन खेलेको भूमिकाको प्रशंसा गरे। ‘कतिपयको मरण हल्का हुन्छ तर विनोद गौचनको देहान्त देशकै लागि अपूरणीय क्षति हो,’ केसीले भने, ‘उहाँको प्रेरणाले यहाँका लुकेका प्रतिभा प्रस्फुटनमा योगदान पुगेको छ।’ उनले कवितापार्कका अधुरा काम पूरा गर्न गाउँपालिका तयार रहेको प्रतिबद्धता जनाए।
गौचनकै पहलमा २०६५ चैत १५ मा लुम्लेलाई ‘कवितागाउँ’ घोषणा गरिएको थियो। विसं २०१२ जेठ १३ मा जन्मिएका गौचनको ५८ वर्षको उमेरमा निधन भएको थियो।
उनले २३ वर्षको उमेरमै लेखएको ‘जति माया लाए पनि’ गीतले गायक अरुण थापासँगै उनको पनि बेग्लै पहिचान बनाएको थियो। गौचनका ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फुल्यौ तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ जस्ता गीत कालजयी मानिन्छन्।
कार्यक्रममा संगीतकार सुनिल थापाले गौचनका सिर्जना सरल, मिठासपूर्ण र माटोलाई माया गर्ने खालका रहेको बताए।
गौचनका आधा दर्जन गीतमा संगीत भरेका थापाले भने, ‘उहाँका कतिपय रचना अझै पाण्डुलिपिमै सीमित रहनु दुःखद हो। गीतकार र रचनाकारलाई ओझेलमा पार्ने प्रवृत्ति हट्नुपर्छ।’ साहित्यकार उषा शेरचनले गौचनलाई अन्तर्मुखी तर व्यावहारिक स्रष्टाका रूपमा स्मरण गरिन्।
