पोखराका चर्चित अनुहार खड्का, अधिकारी र थापा रास्वपामा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिँदै शनिबार पोखराका केही स्थापित अनुहारहरूलाई पार्टीमा भित्र्याएको छ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, नेकपा एमालेका नेता एवं पर्यटन व्यवसायी पुष्प अधिकारी र महिला उद्यमी मिलन थापा रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका केन्द्रीय नेताहरूले उनीहरूलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे। ‘नयाँ राजनीति’ को नारा दिएर उदाएको रास्वपामा अन्य दलका पुराना र स्थापित नेताहरूको प्रवेशले राजनीतिक वृत्तमा चर्चा र आलोचना दुवै सुरु भएको छ।

रास्वपा प्रवेश गरेका कुमार खड्का यसअघि नेपाली कांग्रेस र अखण्ड नेपाल पार्टीमा सक्रिय थिए। उनी प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री भइसकेका व्यक्ति हुन्।

त्यस्तै, अर्का नवप्रवेशी पुष्प अधिकारी चर्चित रुपाकोट रिसोर्टका सञ्चालक तथा एमालेका नेता हुन् भने मिलन थापा अटो व्यवसायी एवं कांग्रेसको पृष्ठभूमिबाट आएकी हुन्।

Exit mobile version