दौड जितेर सेनाका रोकाय बने ‘म्यान अफ दी गोरखा’

गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन् ।

गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएको सङ्घका अध्यक्ष भगवान बाबु मास्केले जानकारी दिए ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टङ्कबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगितामा तेस्रो भएका छन् । नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरे

त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार र सान्त्वनालाई रु ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

Exit mobile version