फेवातालको सिमसार क्षेत्र र जलाधार क्षेत्रमा अनधिकृत रूपमा माटो पुरेर विनाश गर्ने कार्यमा संलग्न व्यवसायी युवराज खतिवडा पक्राउ परेपछि पोखराका वातावरण अभियन्ता रनागरिक समाजको ध्यानाकर्षण भएको छ ।
राजनीतिक पहुँच र शक्तिको आडमा पटक–पटक ताल अतिक्रमण गर्दै आएका खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग उठेको छ ।
व्यवसायी खतिवडालाई ताल र सिमसार क्षेत्र पुर्ने क्रममा प्रहरीले रंगेहात फेला पारी नियन्त्रणमा लिएको हो । स्मरण रहोस्, फेवाताल अतिक्रमणको मुद्दामा खतिवडा पक्राउ परेको यो चौथो पटक हो ।
पटक–पटक पक्राउ पर्ने तर राजनीतिक दबाब वा कानुनी छिद्रको प्रयोग गर्दै छुट्ने प्रवृत्तिका कारण उनले सिमसार क्षेत्रको विनाशलाई निरन्तरता दिँदै आएका थिए । हाल उनी प्रहरी हिरासतमा रहेका छन् र उनीमाथि अनुसन्धान भइरहेको छ ।
फेवातालको अस्तित्व संकटमा पार्ने गरी भइरहेका यस्ता गतिविधिप्रति ‘वातावरण संरक्षणका लागि महाअभियान कास्की’ र ‘नागरिक समाज कास्की’ले गम्भीर आपत्ति जनाएका छन् ।
वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले एक संयुक्त विज्ञप्ति जारी गर्दै खतिवडाको कार्यलाई ‘निन्दनीय’ र ‘अपराध’को संज्ञा दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “विश्व रामसार क्षेत्रमा सूचीकृत र विश्वकै १३ औं सुन्दर तालका रूपमा चिनिएको फेवातालको जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरपरको सिमसार पुर्ने कार्यले यसको अस्तित्व नै समाप्त पार्ने जोखिम बढाएको छ । यस्ता अनधिकृत कार्य गर्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन ।”
नागरिक समाजले फेवाताल संरक्षणका सम्बन्धमा अदालतबाट भएका फैसला र आदेशहरू कार्यान्वयन नभएकोमा समेत आक्रोश पोखेको छ ।
उच्च अदालत पोखराले सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध अन्तरिम आदेश जारी गरिसकेको छ भने सर्वोच्च अदालतले समेत प्रदेश र स्थानीय सरकारका नाममा ताल संरक्षणका लागि निर्देशनात्मक आदेश दिएको छ ।
अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि स्थानीय प्रशासन र सरकारको फितलो निगरानीका कारण भू–माफियाहरूले फेवातालको मुटु मानिने सिमसार क्षेत्रमा डोजर चलाइरहेको अभियन्ताहरूको ठहर छ ।
फेवाताल पोखराको मात्र नभई नेपालकै पहिचान र पर्यटकीय मेरुदण्ड भएकोले यसलाई भू–माफियाको कब्जाबाट मुक्त गराउन नागरिक स्तरबाट समेत दबाब बढ्दै गएको छ ।
