कांग्रेसलाई ‘धन’ र ‘मन’ दिएका बसेलले पार्टी छाडे

 नेपाली कांग्रेस कास्कीका प्रभावशाली नेता तथा महाधिवेशन प्रतिनिधि होम बहादुर बसेल (विमल) ले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय बसेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेपछि कास्की कांग्रेसभित्र तरंग पैदा भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चुनिएका बसेल विद्यार्थी राजनीतिदेखि नै सक्रिय थिए ।

नेपाल विद्यार्थी संघ र तरुण दलको विभिन्न तहमा रहेर काम गरेका उनी पार्टीभित्र एक निष्ठावान् र सहयोगी कार्यकर्ताका रूपमा चिनिन्थे । वि.सं. २०७८ मा भएको महाधिवेशनमा उनले लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा जित हासिल गरेका थिए ।

विगतमा बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आदर्श र सिद्धान्तबाट प्रेरित भएर राजनीतिमा होमिएका बसेलले वर्तमान नेतृत्व र पार्टीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टी अहिले आफ्नो मूल बाटो र शहीदहरूको सपनाबाट विमुख भएको आरोप लगाएका छन् ।

राजीनामाको घोषणा गर्दै उनले भनेका छन्, “वर्तमान राजनीतिक घटनाक्रम, मुलुकमा मौलाउँदो कुशासन, बढ्दो भ्रष्टाचार र व्याप्त बेथिति देख्दा देश एउटा गहिरो दलदलमा फसेको महसुस भएको छ । यो केवल राजनीतिक असफलता मात्र नभई देश र जनताप्रतिको गम्भीर लापरवाही र विश्वासघात पनि हो ।”

पेशाले घरजग्गा व्यवसायी रहेका बसेल कास्की कांग्रेसमा नेताहरूको ‘खातिरदारी’ र आर्थिक सहयोगका लागि निकै चिनिएका नाम हुन् ।

कास्की भ्रमणमा आउने केन्द्रीय नेताहरूका लागि उनले आवास, सत्कार र आर्थिक व्यवस्थापनमा ठूलो भूमिका खेल्ने गरेको चर्चा स्थानीय कार्यकर्तामाझ हुने गर्दछ ।

विशेषगरी पूर्व उपसभापति गोपालमान श्रेष्ठ र पूर्व महामन्त्री डा. शशांक कोइराला जस्ता शीर्ष नेताहरूसँग उनको निकट सम्बन्ध रहेको बताइन्छ ।

पार्टीका कार्यक्रमहरू र चुनावका बेला उनले मन फुकाएर आर्थिक सहयोग गर्ने गरेका थिए । यस्तो ‘हस्ती’ले पार्टी छाड्नुलाई कास्की कांग्रेसका लागि ठूलो क्षति मानिएको छ ।

बसेलले तत्काल कुनै अर्को पार्टीमा प्रवेश गर्ने संकेत दिएका छैनन् । उनले समाज रूपान्तरणका लागि पहिला आफू स्वयं रूपान्तरित हुन जरुरी रहेको उल्लेख गर्दै सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरेको बताएका छन् ।

उनले राजीनामाको अन्तमा भनेका छन्, “लोकतान्त्रिक पार्टी कमजोर हुँदा समग्र लोकतन्त्र नै कमजोर बन्छ, त्यसैले कांग्रेस सधैं बलियो बनोस् भन्ने मेरो कामना छ । तर अहिलेको विकृत अवस्थालाई टुलुटुलु हेरेर बस्नु भनेको भावी पुस्ताप्रति अपराध गर्नु हो । त्यसैले मैले नैतिकताको आधारमा राजीनामा दिएको हुँ ।”

उनको यो बहिर्गमनले विशेषगरी कास्की क्षेत्र नम्बर १ मा कांग्रेसको सांगठनिक संरचना र आगामी चुनावी रणनीतिमा समेत प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।

Exit mobile version