राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ३ मा आफ्नो साङ्गठनिक आधार बलियो बनाउँदै पहिलो वडा अधिवेशन सम्पन्न गरेको छ ।
रामकोटमा आयोजित अधिवेशनले सुरेन्द्र केसीको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।
पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा यो अधिवेशनलाई एक महत्वपूर्ण पाइलाको रूपमा लिइएको छ । अधिवेशनले वडा समितिको उपसभापतिमा मिनु मगर र सचिवमा बिन्दु थापालाई निर्वाचित गरेको छ ।
यस्तै, कार्यसमिति सदस्यहरूमा गणेश जीसी, मनु थापा र जग बहादुर माकिम चयन भएका छन् । नवनिर्वाचित टोलीलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
‘जनताका कुरा, जनताकै सरकार’ भन्ने रास्वपाको मूल मन्त्रलाई व्यवहारमा उतार्न स्थानीय स्तरमा यो समितिले नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहमा नागरिकको आवाज, आशा र अभिव्यक्तिलाई संस्थागत गर्दै अघि बढ्ने लक्ष्यका साथ वडा अधिवेशन सफल पारिएको रास्वपा बन्दीपुरले जनाएको छ ।
अधिवेशनमा सहभागीहरूले गाउँस्तरमा पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि यो अधिवेशन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूले अबदेखि वडास्तरका समस्या र नागरिकका मुद्दाहरूलाई पार्टीको केन्द्रसम्म पुर्याउन पुलको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
