पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविले उचालेको छ ।
पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि उचालेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रम पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त र डा.स्वागत श्रेष्ठ, केन्द्रिय सदस्य सूर्य बहादुर जिशी, हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्मा, हिसान कास्कीका उपाध्यक्षद्वय ढाकाराक कंडेल र पुरन कुंवर, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
५ दिन सम्म सञ्चालन भएको १८ औं संस्करणको हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्न्यवविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका थिए । जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धाहरु सञ्चालन भएका थिए ।
