राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाएको भनिएको ‘गुन’ तिर्न अदालत धाइरहेको भन्दै कडा व्यंग्य गरेका छन् ।
बिहीबार काठमाडौं जिल्ला अदालतमा तारेख लिएर फर्कने क्रममा उनले ओलीको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।
अध्यक्ष ओलीले हालै ‘हिमालय टेलिभिजन’ सँगको अन्तर्वार्ताका क्रममा लामिछानेलाई आफूले गुन लगाएको तर उनले त्यो बिर्सिएको टिप्पणी गरेका थिए । सोही प्रसङ्गलाई जोड्दै लामिछानेले आफू अहिले कानुनी झमेलामा परेर विभिन्न जिल्लाका अदालत धाउनुपर्ने बाध्यतालाई ओलीले लगाएको गुनको रूपमा अथ्र्याएका हुन् ।
‘केपी ओलीले गुन लगाएको भन्नुभएको छ, त्यही गुन तिर्न अदालत धाइरहेको छु,’ लामिछानेले पत्रकारहरूसँग भने, ‘सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ ।’ उनले आफू अहिले शारीरिक र मानसिक रूपमा निकै कष्टकर अवस्थामा रहेको संकेत समेत गरे ।
आफ्नो अवस्थालाई पीडादायी रूपमा प्रस्तुत गर्दै लामिछानेले अगाडि थपे, ‘जीउमा किला ठोके जस्तो भएको छ, अन्य अदालतमा जाँदैछु, हाजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ, अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’
विभिन्न जिल्लामा सहकारी ठगी लगायतका मुद्दामा बयान र तारेखका लागि पुग्नुपर्ने स्थितिलाई उनले ओलीको गुनसँग जोडेर टिप्पणी गरेका हुन् । यसअघि ओलीले लामिछानेलाई अप्ठ्यारो पर्दा आफूले जोगाएको आशयको अभिव्यक्ति दिएका थिए ।
