विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको पाँचौँ तलाबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ।
आइतबार बिहान करिब ६:३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनबाट खस्दा ३४ वर्षीय डा. अमित यादवको ज्यान गएको हो।
सप्तरीको राजविराज नगरपालिका–९, जगदरी स्थायी घर भएका यादव सोही मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नका रूपमा कार्यरत थिए।
भवनबाट खसेपछि टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।
अस्पताल जस्तो संवेदनशील स्थानमा सहकर्मीको असामयिक निधनले अस्पताल परिवार र अन्य चिकित्सकहरू स्तब्ध भएका छन्।
डा. यादव भवनबाट कसरी खसे भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
