नेकपामा एमालेको हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित खगराज अधिकारीले हालको सरकार र प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिनिधिसभाले नचिन्ने अभिव्यक्ति दिएका छन् ।
लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा जननिर्वाचित प्रतिनिधिमात्र प्रधानमन्त्री बन्न पाउने जिकिर गर्दै सचिव अधिकारीले सरकार अवैधानिकतवरले बनेको टिप्पणी गरेका हुन् ।
सचिव निर्वाचित भएपछि गृहजिल्ला आइपुगेका अधिकारीले प्रेस चौतारी, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्ना धारणा राख्दै संसद विघटन गैरकानूनी र अवैधानिक भएको धारणा राखे ।
‘नेकपा एमाले प्रधानमन्त्री सुशीला कार्कीलाई विश्वास गर्दैन’ अधिकारीले भनेका छन् ‘उनी प्रधानमन्त्री हुनसक्ने व्यवस्था संविधानको कुनैपनि धारामा उल्लेख गरिएको छैन ।’
सरकार गठनको प्रक्रिया संविधान बाहिरबाट भएको भन्दै उनले संविधानकै पालाना गर्न पनि एमालेले संसद पूनस्थापनाको मागसहित कार्यक्रम गरिहेको उल्लेख गरे ।
सरकारले निर्वाचन गर्नुपर्ने दायित्व लिएपनि त्यसभन्दा पर गएर विविध कामलाई प्राथमिकतामा राखेपछि एमालेले चुनाव हुन नसक्ने ठानेको उनको भनाई छ ।
‘राजनीतिक दललाई कार्यक्रम गर्नै अड्चन थापिरहेकाले कार्की सरकार चुनावप्रति प्रतिबद्ध छैन’ अधिकारीले भने ‘लोकतन्त्रमा दलकै कार्यक्रममाथि प्रहार गर्नेखालका निर्देशन हामीलाई मान्य छैन ।’
यसैबीच, अधिकारीले पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय रुटमा जोड्न केपी ओलीको पालामा हदैसम्म प्रयास भइरहेको बताउँदै अहिले छानबीनको बहानामा पोखराको पर्यटनमाथि प्रहार गरेको उल्लेख गरे ।
‘छानबीन हुनुपर्छ, यसमा हामी विरोध गर्दैनौ, तर यही बहानामा विमानस्थललाई ओझेल पार्न पाइँदैन’ उनले भने ।
महाधिवेशन पार्टीको आन्तरिक चुनाव भएकाले यसबाट पार्टीमा कुनैपनि असन्तुष्टी र विरोध नहुने भन्दै उनले एमाले झनै एक ढिक्का भएको प्रतिक्रिया जनाएका छन् ।
