प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन गराउन सबै पक्षलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले मानवअधिकार रक्षकहरूको सुरक्षा र पहिचानका लागि आवश्यक कानुन निर्माण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयास र छैटौँ राष्ट्रिय मानवअधिकार कार्ययोजनाको निर्माण गरी कार्यान्वयन सरकारको पहिलो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
७७औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सरकारले भ्रष्टाचारका विरुद्धमा कठोर कदम चाल्ने प्रतिबद्धता जनाउँदै सुशासन कायम गर्नु सरकारले लक्ष्य रहेको धारणा राख्नुभयो ।
पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानवअधिकार सुरक्षित रहन नसक्ने उल्लेख गर्दै उहाँले यो मार्गमा सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘लोकतन्त्रको आत्मा भनेको स्वच्छ र निष्पक्ष निर्वाचन हो । नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो । आगामी फागुन २१ गतेको निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध छ ।’
उहाँले निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने विश्वास दिलाउनुभयो ।
