लेखनाथमा ‘बर्न तथा स्पेशलाइज्ड’ अस्पतालको सम्भावना, कोरियन टोलीद्वारा अध्ययन सुरु

पोखरा महानगरपालिकाले साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा १०० शय्याको ‘बर्न तथा स्पेशलाइज्ड’ (जलन तथा विशिष्टिकृत) अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ।

यसका लागि कोरियन सहयोग नियोग (कोइका) को उच्चस्तरीय विज्ञ टोलीले पोखरा आएर सम्भाव्यता अध्ययन सुरु गरेको छ।

अस्पताल निर्माणको सम्भाव्यता अध्ययनका लागि कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङको नेतृत्वमा १७ जनाको विज्ञ टोली आइतबारदेखि पोखरामा खटिएको छ। टोलीले प्रस्तावित स्थानको निरीक्षण गर्नुका साथै महानगरअन्तर्गत सञ्चालित अन्य परियोजनाहरूको समेत प्रगति विवरण लिएको छ।

अध्ययन टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यूएनडीपी र महानगरका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।

अस्पताल निर्माणका लागि साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको ३६ रोपनी जग्गा उपयोग गरिनेछ।

जसमध्ये ३ रोपनीमा वडा नं. २७ को कार्यालय निर्माण भइसकेको छ भने ५ रोपनी जग्गामा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा विपद् व्यवस्थापन केन्द्र बन्ने प्रक्रियामा छ।

बाँकी रहेको २८ रोपनी क्षेत्रफलमा १०० शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने योजना रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।

प्रस्तावित अस्पतालमा ‘बर्न’ (जलन) उपचारलाई प्राथमिकतामा राखिनेछ भने प्रसूति, बालरोग, ट्रमा, मिर्गौला लगायतका अन्य विशिष्ट सेवाहरू पनि समावेश गरिनेछ।

सुझावका लागि महानगरको आह्वान

महानगरपालिकाले बर्न उपचारबाहेक अस्पतालमा अन्य कुन–कुन सेवा समावेश गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव माग गरेको छ।

महानगरले सूचना जारी गर्दै भनेको छ, ‘जलन उपचारका साथमा कुन विषयको सेवा छान्नु उपयुक्त होला, यसबारे आफ्ना सल्लाह, सुझाव वा दृष्टिकोण लेखेर, भेटेर वा इमेलमार्फत उपलब्ध गराउन सकिनेछ।’

प्राप्त सुझावहरू परियोजनाको ढाँचा तयार पार्न महत्वपूर्ण हुने महानगरले जनाएको छ।

Exit mobile version