कांग्रेस सभापतिको विवादास्पद अभिव्यक्तिः राजा स्वीकार्न तयार हुनुपर्ने जिकिर

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले ‘प्रजातन्त्रवादी राजा’लाई स्वीकार गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति शर्माले मुलुकमा स्थिरता कायम गर्नका लागि कांग्रेस राजसंस्थाका विषयमा लचिलो हुनुपर्ने धारणा राखेका हुन् ।

कांग्रेसको आधिकारिक लाइन गणतन्त्र भए पनि जिम्मेवार पदमा रहेका सभापति शर्माले राजसंस्थाको पक्षमा वकालत गरेका हुन् ।

‘प्रजातन्त्रवादी राजा बनेर हाम्रो समस्याको समाधान हुन्छ र अस्थिरता उत्पन्न गर्ने वातावरण समाप्त हुन्छ भने कांग्रेस त्यसमा तयार हुनुपर्छ,’ पत्रकारहरूसँग कुरा गर्दै शर्माले भने ।

सभापति शर्माले कांग्रेसले आफ्नो मूल सिद्धान्त बिर्सेर अरूको एजेन्डा र सिद्धान्त अँगाल्दा पार्टी कमजोर बन्दै गएको दाबी गरे । पार्टी कमजोर भएकै कारण देशको अवस्था दयनीय बनेको टिप्पणी गर्दै उनले भने, ‘अब बिराएको बाटोबाट कांग्रेस फर्किनुपर्छ ।’

सोही अवसरमा बोल्दै उनले पार्टी संगठन जोगाउनका लागि समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिए । शर्माले नयाँ म्यान्डेट लिएर मात्रै कांग्रेस आगामी निर्वाचनमा होमिनुपर्ने आवश्यकता समेत औँल्याए ।

Exit mobile version