शनिबार पोखरामा यःमरी महोत्सव

पोखरा महानगर वडा नम्बर ४ ले आगामी शनिबार पुरानो बजारको गणेश टोलमा ‘छैटौँ यःमरी महोत्सव’ गर्ने भएको छ ।

नेवारी समुदायको सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले नेवाः मिसा पुचः कास्कीसँगको सहकार्यमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा नेवारी परिकारको प्रदर्शनीसँगै बिक्री, विद्यार्थी नृत्य, झाँकी, ब्यान्ड सो र यःमरी प्रतियोगिता मुख्य आकर्षण रहने छन् ।

नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगी लगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा छ ।

नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो ।

आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ ।

वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार महोत्सवमा नेवारी खानेकुराका ६ स्टल राखिनेछन् । चाकुको यःमरी ८० रुपैयाँ र खुवाको यःमरी १ सय रुपैयाँमा बिक्री उनले जानकारी दिए ।

Exit mobile version