नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गरेको कुराले नयाँ विवाद सुरू गरेको छ।
आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराउँदा देउवाको हस्ताक्षरलाई आधिकारिक रूपमा पेस गरेपछि नयाँ किचलो देखिएको हो । कांग्रेसले शनिबार मात्रै आगामी दुवै चुनावमा सहभागी हुने निर्णयसहित दल दर्तामा गएको थियो ।
यसैबीच, महामन्त्री गगनकुमार थापाले देउवाको नेतृत्व अस्वीकार गरेका हुन् । उनले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने बताउँदै विशेष महाधिवेशनबाट नयाँ नेता चयन गरिने उल्लेख गरेका छन् ।
‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?’ भन्ने धेरैको प्रश्नमा मैले ‘होइन’ भन्ने जवाफ दिइरहेको छु’, उनले भनेका छन्, ‘अब विधानअनुसार नै विशेष महाधिवेशन गरेर कांग्रेसमा नयाँ नेतृत्व आउँछ, त्यही नेतृत्वले आगामी चुनावमा प्रतिस्पर्धा गर्न कांग्रेसलाई उतार्छ ।’
अब विधानअनुसार समयमै विशेष महाधिवेशन गरेर त्यहीँबाट नयाँ सभापति चुनिने बताएका छन् । ‘अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्याएर कांग्रेस आयोगमा जानेछ’, उनले भने, ‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमै पार्टीले चुनाव लड्छ ।’
