अमेरिकी साझेदारीमा भइरहेको प्रगति बुझ्न राजदूत थम्पसन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमको निरीक्षण गरेका छन् ।

अस्पतालको निरीक्षण भ्रमणका क्रममा राजदूत थम्प्सनले अमेरिकाको आर्थिक साझेदारीमा सञ्चालित स्वास्थ्य परियोजनाहरूको प्रगतिबारे जानकारी लिएका थिए।

विशेष गरी अस्पतालको बाल विभाग र नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू)को अवलोकनपछि उनले स्वास्थ्य क्षेत्रमा अमेरिकी सहयोग निरन्तर रहने र आगामी दिनमा सहयोगका क्षेत्रहरू विस्तार गरिने बताए।

स्वास्थ्य सेवामा नवीनता र पहुँच बढाउन, र दीर्घकालीन आत्मनिर्भरताका लागि स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन नेपालका स्वास्थ्य क्षेत्रलाई समर्थन गर्न अमेरिका प्रतिबद्ध रहेको थम्प्सनले बताए ।

‘नेपालको मजबूत स्वास्थ्य प्रणालीले अमेरिकाको स्वास्थ्य सुरक्षालाई पनि बलियो बनाउँछ’ राजदूत थम्प्सनले भनेका छन् ।

अस्पतालले उपलब्ध स्रोतबाटै दिएको स्तरीय सेवाप्रति खुशी व्यक्त गर्दै राजदूत थम्प्सनले नवजात शिशु र बालबालिकाको उपचारमा अस्पताललाई थप सुदृढ बनाउन अमेरिकाले साथ दिने बताए।

भ्रमणका क्रममा अस्पतालका बाल विभाग प्रमुख प्राडा रामचन्द्र बास्तोलाले राजदूतलाई स्वागत गर्दै अस्पतालको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

प्राडा बास्तोलाले सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको तर बिरामीको चापअनुसार भौतिक संरचना पर्याप्त नरहेको तर्फ राजदूतको ध्यानाकर्षण गराए।

‘बिरामीको अत्यधिक चापका कारण हाल उपलब्ध एनआइसियूका १५ बेड र आमाहरूका लागि १७ बेड अपुग भइसकेका छन्,’ प्राडा बास्तोलाले भने, ‘यसका साथै हालै निर्माण गरिएको ८ बेडको बाल सघन उपचार कक्ष (पिआइसियू) र २ वटा आइसोलेसनका लागि आवश्यक जनशक्तिको पनि अभाव छ।’


Exit mobile version