वडाध्यक्षको साथ र क्लब अध्यक्षको सक्रियताले लालीगुराँस राष्ट्रिय लिगमा

पोखरा महानगरपालिका वडा नं. १२ को लालीगुराँस एशोसिएसन क्लबले वडाध्यक्ष सन्तोष बास्तोलाको सहयोग र क्लब अध्यक्ष डमरजङ गुरुङको सक्रियतामा ठूलो सफलता हासिल गरेको छ।

हेटौंडाको गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा मंगलबारको महत्वपूर्ण खेल जित्दै लालीगुराँस राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बनेको छ।

वडाध्यक्ष बास्तोलाले पदभार ग्रहण गरेपछि वडाभित्रका युवाहरूलाई खेलकुद र समुदाय विकासमा संलग्न गराउन निरन्तर सहयोग गर्दै आएका छन्।

यसैको परिणामस्वरुप, लालीगुराँस एशोसिएसनले पछिल्ला वर्षहरूमा खेलकुद, सामाजिक सेवा र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्थानीयहरू बताउँछन्।

क्लब अध्यक्ष गुरुङले वडाको साथले लालीगुराँसलाई पोखराकै एक उदाहरणीय संस्था बनाउन मद्दत पुगेको बताएका छन्।

वडाध्यक्ष बास्तोलाले पनि युवा र खेलकुद विकासमा निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।

मंसिर २ सम्म चल्ने प्रेसिडेन्ट लिगमा १० टोली सहभागी छन्। दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्, जसले आगामी पुसमा हुने राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन्। लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

लालीगुराँसको यो सफलता सामुदायिक प्रयास र नेतृत्वको सही संयोजनको एउटा ज्वलन्त उदाहरण हो।

Exit mobile version