नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुन अब पाँच दिन मात्र बाँकी रहँदा मोहम्मद अदिल आलमलाई किन्न टिमहरूबीच गज्जबको प्रतिष्पर्धा चल्यो ।
एनपीएलमा सहभागी आठवटै टोलीले किन्न चाहेपछि ‘लक्की ड्र’मार्फत भाग्यमानी ठहरिएको काठमान्डु गोर्खाजले आलमलाई आफ्नो टिममा भित्र्याउन सफल भएको छ ।
घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका आलमले दुई पटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक टी-२० सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यूएईमा भएको सिरिजको दोस्रो खेलमा उनले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिएर ब्याटिङतर्फसमेत ५ बलमा ११ रन प्रहार गर्दै एक खेल अगावै नेपाललाई सिरिज जिताएका थिए । अन्तिम खेल पनि खेलेका उनले त्यसमा २४ रनमात्र खर्चिए पनि विकेट भने लिन सकेनन् ।
प्रतिबन्ध फुकुवापछि राष्ट्रिय टिममा पर्नुअघि आलम भारतको आसाम टिमसँग नेपाल ‘ए’ले खेलेको सिरिजका लागि चयन भएका थिए । नेपाल ‘ए’ले जितेको उक्त सिरिजमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि वेस्ट इन्डिजविरूद्धको सिरिजमा उनलाई समेटिएको थियो । आदिलले आसाममा ५ खेलमा ८५ रन बनाएका थिए भने बलिङमा ३ विकेट लिए ।
आदिलले नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । आदिलले नेपालबाट ६ ओडीआई र १२ टी–२० आई खेल खेलेका छन् ।
मार्च ३१, २०२२ मा पपुवा न्यु गिनीविरुद्ध कीर्तिपुर मैदानमा आदिलले आफ्नो टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । उक्त खेलमा उनले ११ बलमा ३ छक्का र १ चौकासहित ३१ रन बनाए । उनको ‘हेलिकोप्टर सट’ले सबैको ध्यान खिचेको थियो ।
बाल्यकालदेखि नै चम्किएका आदिलले यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशबाट सुदूरपश्चिमविरुद्ध ४३ बलमा अविजित ८७ रन बनाएका थिए, जसले सुदूरपश्चिमका अर्जुन साउदको शतकलाई पनि छायामा पारिदिएको थियो । उनले यू–१९ एसिया कपमा तीन खेलमा ५७ रन र तीन विकेट लिएका थिए ।
लगातार उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि उनले प्रधानमन्त्री कपजस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा पनि प्रदेश टोलीबाट स्थान बनाएका थिए ।
एनपीएल मंसिर १ गतेदेखि सुरु हुँदै छ ।
