गण्डकी प्रदेश सभामा ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पेस गरिएको छ।
उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले प्रस्तुत गरेको यस विधेयकमाथि सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
नेपाली कांग्रेसका सांसद डिल्लीराम सुवेदीले ‘नियन्त्रित वैधता’को उद्देश्यले ल्याइएको यस विधेयकले सम्भावना र जोखिम दुवै ल्याउने बताए।
उनले उचित नियमन भएमा बाँझो जमिनको उपयोग र कर वृद्धिमा सकारात्मक परिणाम आउन सक्ने धारणा राखे।
यद्यपि, उनले सामाजिक सञ्जालमा गाँजाप्रति युवाहरूको आकर्षण र यससँग जोडिएका हल्लाहरूबारे चिन्ता व्यक्त गर्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा विचार पुर्याउनुपर्नेमा जोड दिए।
नेकपा (एमाले)का सांसद गणेशमान गुरुङले भने गाँजा खेतीलाई राम्रोसँग नियमन गर्न सकेमा गण्डकी प्रदेशको गाँजालाई विश्वभर चिनाउन सकिने र विदेश पलायन हुने युवाहरूको बाध्यता पनि अन्त्य हुन सक्ने बताए।
उनले ‘महादेवले प्रयोग गर्ने क्षेत्रको गाँजा’ भनी ब्रान्डिङ गर्न सकिने र लोगो तथा ट्रेडमार्क बनाएर यसको प्रचारप्रसार गर्न सकिने सुझाव पनि दिए।
नेकपा (माओवादी केन्द्र)का सांसद रेशमबहादुर जुग्जालीले भने कानुन बनाइसकेपछि अलमलमा पर्न नहुने कुरामा जोड दिए।
यस विधेयकले गाँजा खेतीलाई निश्चित प्रयोजनका लागि वैधानिकता दिने र त्यसलाई नियमन गर्ने लक्ष्य राखेको छ।
