पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जेन–जी आन्दोलनका दौरान महानगरले करिब २ अर्ब रुपैयाँबराबरको क्षति व्यहोर्नुपरेको बताएका छन् ।
जेन-जी आन्दोलनमा महानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा आगजनी तथा तोडफोड भएको थियो । जसले गर्दा महानगरपालिकालाई आर्थिक रूपमा २ अरब बढीको क्षति भएको मेयर आचार्यको भनाई छ ।
असहज परिस्थितिका बाबजुद नागरिकहरूको सेवालाई प्रभावित हुन नदिने गरी पोखरा सभागृह, साबिक महाशाखाहरू रहेको स्थान र दमकल लगायत स्थानबाट महानगरपालिकाको सेवा प्रवाह गरिरहेको महानगरका सल्लाहकारहरुलाई आचार्यले जानकारी गराए ।
जेनजी आन्दोलन पश्चात् उत्पन्न परिस्थितिका बिच प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा आचार्यले सल्लाहकार परिषद्सँग छलफल गर्ने क्रममा उनले उक्त हिसाबकिताब सनाएका हुन् ।
पोखरा महानगरपालिका सल्लाहकार परिषदका अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा यस क्षेत्रका लब्धप्रतिष्ठीत व्यक्तिहरू सम्मिलित परिषद्सँग नगर प्रमुख आचार्यले छलफल गरेका हुन् ।
