महानगरको प्रतिवेदन भन्छः पोखराको निजी क्षेत्रमा सवा २ अर्बको क्षति

पोखरा महानगरपालिकाले गठन गरेको एक अध्ययन समितिले जेनजी आन्दोलनका क्रममा शहरमा भएका आगजनी, लुटपाट र तोडफोडबाट २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

यो विध्वंसले ४० भन्दा बढी निजी संरचना र व्यावसायिक प्रतिष्ठानमा गम्भीर असर पुर्याएको छ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा अराजक समूहले सरकारी कार्यालय र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण गरेका थिए, जसको परिणामस्वरूप दुई जनाको ज्यान समेत गएको थियो।

इन्जिनियर लक्ष्मीप्रसाद गौतमको संयोजकत्वमा रहेको समितिले गरेको मूल्याङ्कन अनुसार, क्षतिको ठूलो हिस्सा न्यूरोडस्थित भाटभटेनी सुपरमार्केटमा भएको छ, जहाँ आगजनी र लुटपाटबाट १ अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

अन्य प्रमुख क्षतिको विवरण यस प्रकार छ:

  • होटल सरोवर: ३० करोड (आगजनी)
  • गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको व्यावसायिक कम्प्लेक्स (नयाँबजार): ३ करोड
  • मन्त्री थापाको घर: २ करोड
  • उनका भाइ ध्रुव थापाको स्वामित्वमा रहेको व्यावसायिक कम्प्लेक्स र गाडी सो रुम: ६ करोड
  • मन्त्री पुत्र सौगात थापाले सञ्चालन गर्ने लेकसाइडस्थित बगैंचा वेलनेस सेण्टर: १५ करोड
  • सौगातले सञ्चालन गर्ने अंशुभरा ग्रुपको लेकसाइड कार्यालय: ३ करोड (आगजनी, तोडफोड र लुटपाट)
  • पोखरा इभेण्ट सेण्टर: १८ करोड ५० लाख (आगजनी)
  • गुडविल होटल (लेकसाइड): ५ करोड
  • सिर्जनाचोक सुपरमार्केट: २ करोड ४५ लाख (आगजनी र लुटपाट)
  • बरपिपल रिसोर्ट: ३ करोड (आगजनी र तोडफोड)
  • पूर्वसांसद राजीव पहारीको घर: २ करोड ५० लाख (आगजनी)
  • माकुसे पोखरा, मण्डला कलेक्टिभ, पोखरा क्वालिटी सप्लायर्स र पोखरा क्वालिटी ट्रेड कन्सन: १ करोड ४० लाख (आगजनी र तोडफोड)

यसबाहेक, मन्त्र थकाली किचन (२० लाख), होटल एडम (५० लाख), केटीएम सिटी लेकसाइड (५० लाख), फेवा फार्मेसी (१० लाख), विनित मेटल उद्योगको क्रेटा गाडी (६० लाख), झपिन्द्र रेग्मीको घर र गाडी (४० लाख), गण्डकीका भौतिक योजनामन्त्री प्रकाशबहादुर केसीको घर (३० लाख), ट्रान्क्विलिटी स्पा (१५ लाख), हिमालयन जाभा (८ लाख), वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीको घर (४० लाख), एमाले नेता खगराज अधिकारीको घर (१० लाख), सांसद मनबहादुर गुरुङको घर (२ लाख), एमाले नेता तेजनारायण अधिकारीको घर (२ लाख), कांग्रेस नेता यज्ञबहादुर थापाको घर (२ लाख), पोखरा उद्योग वाणिज्य संघको कार्यालय र कर सहायता कक्ष (३५ लाख), कांग्रेस नेता कृष्ण केसीको घर (२ लाख), युआएल पोखराको ल्याब (४५ लाख), छोरेपाटनमा रहेको बिएल आयल स्टोर्स (३ करोड ५२ लाख), साम्बला क्याफे लेकसाइड (३० लाख), गगन टोइटा इन लेकसाइड (३० लाख), बतास अर्गनाइजेसन (३० लाख) र पोखराका मेयर धनराज आचार्यको घरमा (३० लाख) लगायतका स्थानमा पनि क्षति पुगेको प्रारम्भिक अनुमान छ।

समितिका संयोजक इन्जिनियर गौतमले पीडितहरूसँगको कुराकानी र क्षतिको प्रत्यक्ष अवलोकनका आधारमा यो अनुमानित विवरण तयार पारेको बताएका छन्। उनले केही स्थानमा क्षति नदेखिएको र मिहिन विश्लेषण गर्दा कुल क्षति अझ बढ्न सक्ने सम्भावना रहेको पनि उल्लेख गरे।

Exit mobile version