असोज ९ गतेदेखि काठमाण्डौं-ग्वाञ्जाओ उडान सुरु हुने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ ।

निगमले पहिलो पटक काठमाडौँ-ग्वाञ्जाओ-काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो ।

निगमका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।

पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ ।

त्यसपश्चात प्रत्येक आइतबार, मंगलबार र शनिवार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु. ३० हजार र दोहोरो टिकट रु. ५० हजार तोकिएको निगमले जनाएको छ ।

निगमले निकट भविष्यमै काठमाडौँबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

काठमाडौँ–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ ।

नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।

Exit mobile version