सेप्टेम्बरबाट सिचुवानले जोड्नेछ पोखरा–अष्ट्रेलिया

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियासम्म सिधा हवाई उडान हुने भएको छ।

चीनको सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अस्ट्रेलियाको सिधा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति मागेको छ। यो उडान आगामी सेप्टेम्बर महिनाबाटै सुरु गर्ने योजना एयरलाइन्सको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानका लागि अनुमति मागेको पुष्टि गरे। उनले आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अनुमति दिने तयारी भइरहेको बताए।

सूचना अधिकारी भुलले भने, ‘सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। यस विषयमा अनौपचारिक कुराकानी भएको छ र औपचारिक प्रक्रिया टुंग्याउन द्विपक्षीय छलफल भइरहेको छ। छिट्टै उडानको तालिका पेस होला।’

यो उडान सञ्चालनमा आएमा अस्ट्रेलिया आवतजावत गर्ने नेपालीहरूलाई ठूलो सहजता हुने विश्वास लिइएको छ।

यसअघि सिचुवान एयरलाइन्सले विसं २०८० असारमा ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ का लागि पोखरामा चार्टर्ड उडान गरेको थियो।

पोखरा विमानस्थलका लागि अर्को सुखद खबरमा, भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरलाइन्स (टासी) ले पनि चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारोका लागि आगामी सेप्टेम्बर २८ र अक्टोबर महिनामा गरी चार दिन चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणले जनाएको छ।

भुलका अनुसार, यी चार्टर्ड उडानहरू सफल र दिगो भएमा भविष्यमा ‘फिफ्थ फ्रिडम’ अधिकार प्रयोग गरी पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो रुटमा नियमित उडान गर्ने एयरलाइन्सको योजना छ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले मात्रै हप्ताको एक दिन काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ रुटमा नियमित उडान गरिरहेको छ।

विसं २०७९ पुस १७ मा उद्घाटन भएको यो विमानस्थलमा सिचुवान र भुटान एयरलाइन्सको आगमनले विमानस्थल थप चलायमान बन्ने अपेक्षा गरिएको छ।


Exit mobile version